मेरी श्रीमतीलाई यौनसम्पर्क गर्ने चाहना हुँदैन । यो समस्याको कुनै औषधी छ कि ?
२८६४

यौन रुचिको सञ्चालन

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।
यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एकातिर रागरस अर्थात् हार्मोनहरूले यौनइच्छा सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ ।
त्यसैगरी यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभैनहुने कुरा हुन् । हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो । यो हाम्रो शरीरका पाँच इन्द्रिय : दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो । यसमध्ये कुनै इन्द्रियबाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ । यौन सम्पर्क पनि एक विशेष किसिमको स्पर्श हो ।
हामीलाई थाहै छ, यौनसम्पर्कलाई ‘शारीरीक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो,’ भनेर परिभाषित गर्न सकिन्छ । यौनसम्बन्धी हाम्रा भावना मस्तिष्कबाट सुरु हुन्छन् ।

यौनसम्पर्क गर्ने रुचि किन नभएको होला ?
तपाईंले आफ्नी श्रीमतीमा यौनसम्पर्कप्रति रुचि नहुने कुरा गर्नुभएको छ । यौनेच्छा भए पनि अन्य कारण जस्तै शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारण हुन सक्छन् । अर्कातिर तपाईंसँगको सम्बन्ध नै उहाँले चाहेजस्तो नभएको हो वा होइनले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यो विषयमा विस्तृत रूपमा तपाईंलाई नै जानकारी हुनुपर्ने हो ।

यौनइच्छा प्राकृतिक र मानिसको आधारभूत आवश्यकता भए पनि र यसमा हामी सबैको रुचि भए पनि सबैमा एकनासको रुचि वा चाख हुँदैन । कुनै व्यक्तिमा यौनइच्छा बढी हुन्छ भने कसैमा अलि कम हुन्छ । सामान्य वा ठीक मात्राको यौन व्यवहार कति हो भन्न त गाह्रो छ, किनभने यी कुरा व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छन्, तर सामान्यभन्दा बढी वा कम यौनइच्छा हुन सक्छ । यसरी तालमेल नमिलेको पो हो कि भन्ने विचार गर्नुपर्ने हुन्छ ।

यौनसम्पर्क नै गर्न नचाहने समस्या

केही व्यक्तिमा भने यौनसम्पर्क राख्ने चाहना साँच्चिकै कम हुन सक्छ। यसले यौनसम्पर्क राख्ने चाहना, यौनपरिकल्पना वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ । यस्तो स्थितिमा व्यक्तिले यौन क्रियाकलापवाट आनन्द लिन भने सक्दैन ।

अर्को एक स्थिति जसमा विशेष गरेर यौनाङ्गको सम्पर्कमा आउनबाटै परहेज गरिन्छ । यस्तो स्थितिलाई यौन विमुखता भनिन्छ । यस्तो कतिपय व्यक्तिमा जन्मजात नै हुन्छ भने कसैलाई यौनशोषण वा बलात्कारजस्ता घटनामा परेर गम्भीर आघात परेको हुनाले त्यसबाट टाढा भाग्न चाहन्छ । यस्तो स्थितिमा व्यक्तिलाई यौनसम्पर्क राख्ने चाहना त हुन्छ, तर यौनाङ्गको स्पर्शबाट भने परहेज गर्छ ।

समाधानका लागि के गर्ने ?
तपाईंले श्रीमतीमा यौनसम्पर्क राख्न रुचि नभएको कुरा गर्नुभएको छ तर थप जानकारी भने दिनुभएको छैन । तपाईंले महिलामा पनि यौन उत्तेजना बढाउने कुनै चक्की वा औषधीको अपेक्षा गर्नुभएको होला । समस्याको निदान नभै समाधानको कुरा गर्न मिलेन ।

श्रीमतीलाई रुचि नै नभएकाले यौन उत्तेजना नआएको हो वा त्यसको अन्य केही कारण छ ? श्रीमतीसँग कुराकानी गर्नुहोस् र त्यसैका आधारमा अघि बढ्नुहोस् । कतै यो समस्या शारीरिक कारणले हो वा मानसिक कारणले हो, निदान गर्नु पनि निकै नै महत्त्वपूर्ण हुन्छ । थकान, कुनै शारीरिक वा मानसिक तनाव छ भने त्यसलाई कम गर्न तपार्इंले सहयोग गर्न सक्नुहुन्छ । यौनसम्पर्कमा पीडा हुने वा कुनै रोगव्याधि भए त्यसको समाधान गर्नुपर्छ । तपाईंहरूको बीचमा भएको अपेक्षाको तालमेल नमिलेको हो भने त्यसलाई व्यवस्थित गर्न तपाईंलाई गाह्रो नपर्ला । तपाईंहरूको बीचमा मनोमालिन्य वा सम्बन्धमा कुनै तनाव छ भने त्यसलाई पनि विशेष ध्यान दिनुपर्छ ।

यौनसम्पर्कमा रुचि नहुने कुरा मानसिक कारणले भए त्यसैअनुरूप समाधान गर्नुपर्‍यो । यसका लागि तपाईंले चिकित्सक वा मनोचिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ । मानसिक समस्याका लागि मनोचिकित्सकको आवश्यकता पर्छ । यसका लागि धैर्यता अनि दृढ अठोटको आवश्यकता पनि पर्ला । यस्तो स्थितिमा शंका–उपशंका अनि अन्य व्यक्तितिर सम्बन्ध विस्तार गर्न लागियो भने वैवाहिक जीवन थप असजिलोमा पर्छ । यस्तो स्थितिमा एक–अर्काको सहयोगको आवश्यकता हुन्छ ।